रोहिंग्यालाई स्वदेश फर्काउन द्विपक्षीय वार्ता
0
Shares

0

यांगुन : बंगलादेशमा रहेका रोहिंग्या म्यान्माली शरणार्थीलाई फिर्ता गर्ने सम्बन्धमा बंगलादेश र म्यान्मारका अधिकारीबीच छलफल भएको छ।

यसअघि बंगलादेश र म्यान्मारबीच करिब दुई महिनाभित्र रोहिंग्या शरणार्थी फिर्ता गर्ने सहमति भएको जनाइएको थियो। उक्त सहमतिको पूर्ण कार्यान्वयन नभए पनि केही शरणार्थीहरू स्वदेश फर्केका छन्। अधिकारीहरूका अनुसार मंगलबार म्यान्मारको राखिन राज्यको तुङ पो लेतामा छलफल शुरु भएको हो। खासगरी केही शरणार्थीहरू बंगलादेश जाने क्रममा र अरू केही राखिनमा फर्किने क्रममा दुवै देशको ‘जिरो लाइन’ मा ती शरणार्थीहरू रहेका छन्। यस विषयमा थप छलफलका लागि बंगलादेशका अधिकारीहरू म्यान्मार पुगेका हुन्।

म्यान्मारमा केही महिनाअघि भएका हिंसात्मक गतिविधिपछि सेनाले चलाएको सैनिक अभियानबाट बस्न नसकेर म्यान्मारको रोहिंग्या समुदायका लाखौँ नागरिकले देश छोडेर भागेका थिए। विशेषगरी रोहिंग्याहरूको बसोवास रहेको म्यान्मारको राखिन राज्यबाट ६ लाखभन्दा बढी नागरिक भागेर बंगलादेश पुगेका थिए। यसरी भागेका शरणार्थीहरू अझै पनि अधिकांश बंगलादेशको कोक्स बजार क्षेत्रमा बस्दै आएका छन्। राखिन राज्यमा भएको छलफलमा यहाँका उच्च अधिकारीका साथै सीमा अधिकारीलाई पनि सहभागी छन्।

यी दुई देशबीच शरणार्थी फिर्ताका विषयमा सहमति पत्रमा हस्ताक्षर भइसकेको छ। दुई देशको विदेश मन्त्रालयका अधिकारीहरूले सो सहमति पत्रमा हस्ताक्षर गरेका हुन्। व्यक्तिगत रूपमा केही शरणार्थी आफ्नो देश फर्किएको भए पनि त्यस सहमतिबमोजिम भने रोहिंग्यालाई फिर्ता गर्ने काम शुरु गरिएको छैन।

गत अगस्त २५ देखि ती शरणार्थीहरूले देश छोडेका हुन्। उनीहरूलाई स्वदेश फिर्ता गर्नका लागि भन्दै गत अक्टोबर महिनामा एक समिति गठन गरिएको र त्यसैबमोजिम सहमति पनि भएको हो। म्यान्मारको सुरक्षाकर्मीले चलाएको पछिल्लो अभियानलाई अमेरिकाले अल्पसङ्ख्यक रोहिंग्या समुदायलाई राखिनबाट हटाउने प्रयास भनी आलोचना पनि गर्दै आएको छ।

शरणार्थीलाई फिर्ता गर्न माग गरिरहेको समयमा म्यान्मारकी प्रजातन्त्रवादी नेत्री आङसान सुकी र बंगलादेशका विदेशमन्त्री ए एच महमद अलिबीच म्यान्मारको नइपिदवमा दुई महिनाअघि नै भएको बैठकले शरणार्थीलाई फर्काउने सहमति भएको थियो। रोहिंग्यालाई स्वदेश फर्काइँदै छ र यो प्रक्रिया कहिलेसम्म सम्पन्न हुनेछ भन्ने विषयमा दुवै पक्षले प्रष्ट बोलेका छैनन्।

भारतले म्यान्मारलाई दबाव दिनुपर्ने

बंगलादेशकी प्रधानान्त्री शेख हसिनाले रोहिंग्या शरणार्थी स्वदेश फिर्ता लिन भारतले म्यान्मारलाई दबाब दिन आग्रह गरेकी छन्।

हसिनाले सञ्चारकर्मीसँग कुरा गर्दै भनिन्, ‘शरणार्थी फिर्ता गर्न भारतले म्यान्मारलाई दबाब दिनुपर्छ।’ स्वदेश फिर्ता भएपछि पनि उनीहरूमाथि अत्याचार पनि हुन नहुनेमा हसिनाले जोड दिइन्।

शरणार्थी शिविरमा रोहिंग्या निराश भएको उनले बताइन्। उनीहरूको निराशा र बाध्यतालाई कैयौं शक्तिले आफ्नो स्वार्थमा प्रयोग गर्ने प्रयास भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरिन्। उनीहरूमाथि खराब शक्तिले उकास्न सफल भएमा त्यसबाट भारत र बंगलादेश दुबैलाई ठूलो नोक्सानी हुने पनि उनको भनाइ छ। कसैले पनि आ श्रय नदिएकाले बंगलादेशले उनीहरूलाई शरण दिएको हसिनाको दाबी छ।

बंगलादेशले फोटोसहितको रोहिंग शरणार्थीको परिचयपत्र बनाएको छ। करिब १० लाखभन्दा बढी उनीहरूको संख्या भएको उनको भनाइ छ। लाखौं संख्यामा रहेका उनीहरूलाई सहयोग गरिरहन सम्भव नभएको उनको तर्क छ। दैनिक त्यहाँ बच्चा जन्मिरहेका छन्। वर्षातका बेला उनीहरूलाई अर्को समस्या आउनेछ। त्यसअघि नै समस्या सुल्झाउनुपर्नेमा उनले जोड दिइन्।

म्यान्मारसँग सिमाना जोडिएका सबै देशले रोहिंग्या समाधानप्रति केन्द्रित हुनुपर्ने हसिनाको दाबी छ।



यसमा तपाईको मत