विरोधपछि ‘कोर कमिटी’ विघटन
0
Shares

0

काठमाडौं : अघिल्लो साता आफैंले गठन गरेको कोर कमिटीको विषयलाई लिएर पदाधिकारीबीच नै तीव्र विवाद सुरु भएपछि नेपाल बक्सिङ संघले त्यसलाई विघटन गर्ने निर्णय गरेको छ। सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा शनिबार अबेर बसेको संघको पूर्ण बैठकले आजीवन मानार्थ अध्यक्ष विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा गत सोमबार गठित कोर कमिटी विघटन गरेको हो।

 

बहुमतको निर्णयका आधारमा कोर कमिटी विघटन गरिएको संघका अध्यक्ष राम अवालेले बताए। संघको २५ सदस्यीय कमिटीमध्ये १३ जनाले कोर कमिटी गठनप्रति असन्तुष्टि व्यक्त गरेका थिए। ‘खेलकुद क्षेत्रमा लामो अनुभव सँगालेका पूर्वअध्यक्ष विष्णुगोपाल श्रेष्ठले खेलकुदमा पुर्‍याएको योगदानको कदर गर्दै बक्सिङ खेलको विकासका लागि उहाँलाई कोर कमिटीको अध्यक्ष बनाइएको थियो। तर संघकै केही साथीको असन्तुष्टिपछि उहाँ कोर कमिटीमा बस्न चाहनु भएन’, अवालेले भने।

अवालेले पूर्वअध्यक्ष श्रेष्ठ बक्सिङको विकासका लागि आवश्यक व्यक्ति भए पनि संघका अन्य साथीले त्यो आवश्यकता बुझ्न नसकेको बताए। कोर कमिटी गठन गर्ने निर्णयप्रति असहमति जनाउँदै निर्णय पुस्तिका (माइन्युट) मा हस्ताक्षर नगरेका नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले पनि कार्यसमितिको बहुमतले कोर कमिटी भंग गरेको जानकारी दिए।

विधानमै व्यवस्था नभएको आजीवन मानार्थ अध्यक्ष श्रेष्ठको अध्यक्षमा गठन गरिएको कोर कमिटीमा संघका अध्यक्ष अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी र किरणबहादुर श्रेष्ठ, महासचिव सविन भट्टाचार्य, कोषाध्यक्ष गौतम सुजखु र श्याम अवाले सदस्य रहेका थिए। स्टेरिङ कमिटी हुँदाहुँदै घुमाउरो तरिकाले निर्वाचित कमिटीको अधिकार कटौती गर्ने गरी कोर कमिटी गठन गरिएको भन्दै संघका सदस्य दीपक महर्जन र ओमनारायण श्रेष्ठले त्यसप्रति असहमति जनाएका थिए।
संघका सदस्य श्रेष्ठले आजीवन मानार्थ अध्यक्षको व्यवस्था संघको विधानमै नभए पनि अध्यक्ष अवालेले जबर्जस्ती उक्त पद सिर्जना गरेको आरोप लगाए। ‘आजीवन मानार्थ अध्यक्ष बक्सिङ संघको विधानमै छैन’, संघका सदस्य श्रेष्ठले भने, ‘विष्णुगोपाललाई पूर्वअध्यक्षका रूपमा सम्मान दिन सकिन्छ तर, विधानमै नभएको आजीवन मानार्थ अध्यक्षका रूपमा कसरी मान्ने ? ‘

कार्यसमिति बैठकले विष्णुगोपाल श्रेष्ठको अध्यक्षतामा गठन भएको कोर कमिटी विघटन गरे पनि त्यसैबेला गठन गरिएका विभिन्न कमिटीलाई भने यथावत् नै राखिएको छ। गत सोमबार संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीको संयोजकत्वमा अनुशासन कमिटी, महासचिव सविन भट्टाचार्यको संयोजकत्वमा प्रतियोगिता सञ्चालन कमिटी, कोषाध्यक्ष सुजखुको संयोजकत्वमा आर्थिक समिति र उपाध्यक्ष किरणबहादुर श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कमिटी गठन गरिएको थियो।

यसमा तपाईको मत