विर्तामोड युनाईटेड सेमिफाइनलमा
0
Shares

0

विराटनगर : झापाको विर्तामोड युनाईटेड क्लब मोरङको लक्ष्मीमार्गमा जारी प्रथम बुद्ध एयर लक्ष्मीमार्ग गोल्डकप फुटबल प्रतियोगिताको सेममिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा विर्तामोड युनाईटेडले राष्ट्रिय जागृति क्लब सुनसरीलाई २–० गोलले पन्छाउँदै सेमिफाइनल यात्रा सुरक्षित गरेको हो । लक्ष्मीमार्ग स्थित खेलमैदानमा भएको अन्तिम क्वार्टर फाइनल खेलमा झापा ११ का खेलाडीको साथ पाएको विर्तामोडले अग्रता लिन ७२ औं मिनेटसम्म पर्खनु परेको थियो ।

७२ औं मिनेटमा आशिष चापागाईको गोलमार्फत विर्तामोडले अग्रता लिएपछि सुनसरी दबाबमा प¥यो । सुरुआती प्रदर्शनमा विर्तामोडलाई निक्कै टक्कर दिएको सुनसरी अन्तिम समयमा आएर नतिजा विपक्षीलाई सुम्पन बाध्य बन्यो । विर्तामोडले ७६ औं मिनेटमा दोस्रो गोल गरेका थिया । विर्तामोडका लागि बुद्ध चेम्जोङले गोल गरेका थिए ।

पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । त्यसपछि लय समातेको विर्तामोडले नतिजा उम्कनबाट जोगायो । गोल गर्ने धेरै अवसरको सदुपयोग हुन नसक्नु सुनसरीका लागि दुर्भाग्यपूर्ण बन्यो । फिनिसिङ कमजोर हुनु सुनसरीको अर्को कमजोरी रह्यो । विर्तामोडका खेलाडीले सुनसरीका समीर राईलाई फल गरेपछि दोस्रो हाफमा केही समय तनावको स्थिती पैदा भएको थियो । समीरको उपचारका लागि मैदान भित्र छिरेका मेडिकल टोली बाहिर नगइकन रेफ्री मधुकर आचार्यले खेल खेलाएको भन्दै सुनसरीका प्रशिक्षक श्याम मानन्धरले उजुरी गर्दा प्रशिक्षकमाथि आयोजकका मिलन राईले हात पात गरेका थिए । प्रशिक्षक मानन्धरलाई राईले फोर्थ अफिसियल बसेकै स्थानमा गएर तीन मुक्का प्रहार गर्दा खेल आठ मिनेट रोकिएको थियो ।

सोही खेल मैदानमा तीन बर्षअघि राष्ट्रिय लिग हुँदा थ्री स्टार र मोरङबीचको खेलमा पक्षपात गरेको भन्दै दर्शक तथा मोरङका प्रशिक्षकले रेफ्रीमाथि हातपात गरेका थिए । खेलका म्यान अफ दी म्याच आशिष चापागाई घोषित भए । बुधबारको पहिलो सेमिफाइनल खेलमा जीबी रवर मंगलबारे र विराट एकेडेमी विराटनगरबीच प्रतिस्पर्धा हुनेछ ।

यसमा तपाईको मत