विश्वकपमा हिग्वेन चाहिन्छ : मेसी
0
Shares

0

जेन्सी/ब्युनस एयर्स अन्तिम समयमा आएर विश्वकपमा स्थान पक्का गरेको अर्जेन्टिनी टोलीका प्रभावशाली खेलाडी लियोनल मेसीले आगामी विश्वकपमा स्ट्राइकर गोन्जालो हिग्वेनलाई पनि खेलाइनुपर्ने धारणा व्यक्त गरेका छन् । मेसीले हिग्वेन विश्वकप टोलीमा पर्नेमा आफू विश्वास रहेको पनि बताएका छन् । जोर्गे साम्पाओलीको प्रशिक्षकत्वमा रहेको अर्जेन्टिनी टोलीमा हिग्वेनले लामो समयदेखि स्थान पाएका छैनन् ।

दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटको अन्त्यतिरका खेलहरूमा पनि २९ वर्षीय हिग्वेनले टोलीमा स्थान पाएका थिएनन् । उनको स्थानमा इन्टर मिलानका माउरो इकार्डी र बोका जुनियर्सका डारियो बेनडेट्टोले अर्जेन्टिनी टोलीमा स्थान पाएका थिए । ‘हिग्वेन टोलीका महŒवपूर्ण खेलाडी हुन् भन्ने कुरा कसैले भुल्नु हुँदैन’, स्थानीय एक टेलिभिजनसँगको अन्तर्वार्तामा मेसीले भनेका छन् ।

‘आगामी विश्वकपमा हामी गतिलो नतिजाको आशा गर्छौं भने हिग्वेन अर्जेन्टिनी टोलीको आवश्यकता हुन्’, मेसीले भने । आगामी विश्वकप सन् २०१८ मा रुसमा आयोजना हुँदैछ । रुस विश्वकपमा स्थान पक्का गर्न पनि अर्जेन्टिनाले ठूलै संघर्ष गर्नुपरेको थियो । छनोट प्रतियोगिताको अन्तिम समयमा आएर मात्र अर्जेन्टिना विश्वकपमा छनोट भएको थियो ।

‘नौ नम्बरको जर्सी लगाउने विश्वकै उत्कृष्ट खेलाडीमध्ये हिग्वेन पनि एक हुन् । उनले इटालियन क्लब युभेन्ट्सबाट हरेक साता आफ्नो क्षमता पनि देखाउँदै आएका छन्’, मेसीले भनेका छन् । सन् २०१४ को विश्वकप तथा सन् २०१५ र सन् २०१६ को कोपा अमेरिका प्रतियोगितामा पनि हिग्वेनले अर्जेन्टिनाका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । सन् २०१४ को विश्वकपको फाइनलमा अर्जेन्टिनी टोली जर्मनीसँग पराजित भएको थियो । टोली विश्वकपमा छनोट भएपछि प्रशिक्षक साम्पाओलीले पनि हिग्वेनलाई टोलीमा फिर्ता बोलाइने धारणा व्यक्त गर्दै आएका छन् ।

यसमा तपाईको मत