विश्व क्रिकेट लिग च्याम्पियनसिप : जितमा नेपालको सम्भावना
0
Shares

0

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने महत्वपूर्ण खेलका लागि नेपाली टोलीले सोमबार अन्तिम तयारी गर्‍यो । नेपाली टोली हङकङविरुद्ध यही अक्टोबरको १३ र १५ मा हुने दुई खेलका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गर्दैछ ।

यसै प्रतियोगितामार्फत सन् २०१९ मा हुने विश्वकपका लागि अर्काे वर्ष हुने अन्तिम चरणको छनोटमा स्थान सुरक्षित गर्न नेपाललाई हङकङविरुद्ध दुई खेलमा कुनै पनि अवस्थामा जित हात पार्नुपर्ने बाध्यता छ । त्यो बाध्यतालाई बुझेको नेपाली टोलीले जितको विकल्प नभएको बताएको छ । ‘नेपाली क्रिकेट अहिले कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने कुरा हामी सबैलाई थाहा छ । त्यसका बाबजुद हामीले अहिले धेरै मेहनत गरेका छौं’, कप्तान पारस खड्काले भने, ‘हङकङविरुद्धको खेलमा हामीलाई चाहिएको जित हो । जितको विकल्प छैन ।’

 

आठ टोली सहभागी रहेको प्रतियोगिताको शीर्ष चार टोली विश्वकपको अन्तिम चरणको छनोट प्रतियोगिताका लागि छनोट हुनेछन् । च्याम्पियनसिपमा सबै टोलीको अन्तिम दुई खेल (नेपाल र हङकङको भने चार खेल बाँकी) बाँकी रहँदा नेपाल छैटौं स्थानमा छ ।

प्रतियोगिताबाट नेदरल्यान्ड्स र पपुवा न्युगिनीले यसअघि नै छनोट पक्का गरिसकेको अवस्थामा बाँकी रहेको दुई स्थानमा पर्न नेपालले आफूभन्दा माथि रहेको हङकङ, केन्या र स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । नेपाल स्कटल्यान्डभन्दा सात अंक, केन्याभन्दा चार अंक तथा हङकङभन्दा तीन अंकले पछि छ । त्यसैले पनि नेपाली टोलीलाई यसै प्रतियोगितामार्फत विश्वकप खेल्ने सम्भावना जीवितै राख्नका लागि जितको विकल्प छैन । हङकङविरुद्धको पराजयले नेपालको यो सम्भावना लगभग समाप्त हुनेछ ।

मुख्य प्रशिक्षक जगत टमाटा कठिन अवस्थाका बाबजुद आफ्नो टोली दबाबमा नरहेको बताउँछन् । ‘हङकङलाई पक्कै पनि घरेलु मैदानको फाइदा हुनेछ । यद्यपि हामीले दबाब महसुस गरेका छैनौं । सबै खेलाडीले निकै मेहनत गरेका छन् । अब त्यो मेहनतलाई मैदानमा उतार्न आवश्यक छ’, प्रशिक्षक टमाटाले भने, ‘हामी आवश्यक नतिजा ल्याउनेमा ढुक्क छौं ।’

नेपाली टोलीले लामो समयपछि हङकङमा खेल्न लागेको हो । हङकङ पुरानै प्रतिद्वन्द्वी भए पनि वर्तमान नेपाली खेलाडीलाई हङकङको भूमि नयाँ हुनेछ । हाल नेपाली टोलीमा रहेकामध्ये मात्र तीन खेलाडीले हङकङमा खेलेका छन् । कप्तान पारस खड्का र शरद भेषावकरले सन् २००५ मा हङकङमा खेलेका थिए । यसै वर्ष युवा स्पिनर सन्दीप लामिछानेले पनि हङकङमा प्रतियोगिता खेले । त्यस बाहेकका नेपाली खेलाडीलाई हङकङको पिचको अनुभव छैन ।

‘अहिलेको टोलीमा हङकङमा खेलेका हामी तीन खेलाडी मात्रै छौं । यद्यपि हामीले पनि आफ्नो योजना बनाएका छौं’, कप्तान पारसले भने, ‘हङकङले नेपालविरुद्ध मध्यम गतिका बलर लिएर खेल्नसक्ने अनुमान गरेका छौं । हामीले त्यसका लागि पनि आफ्नो तयारी गरेका छौं ।’
नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए । सदस्यसचिव विष्टले नेपाली टोलीलाई जितको शुभकामना पनि दिएका थिए ।

यसमा तपाईको मत