साहित्यका भीष्मपितामह मिश्रलाई अभिनन्दन
0
Shares

0

वीरगन्ज : भोजपुरी भाषा, साहित्यमा भीष्मपितामह मानिने पण्डित दीपनारायण मिश्रलाई वीरगन्जमा शनिबार भव्य समारोहका बीच नागरिक अभिनन्दन गरिएको छ । वीरगन्जको आदर्शनगरमा रहेको जैन तेरापन्थ भवनमा आयोजित कार्यक्रममा नागरिक अभिनन्दन मूल समारोह समितिले भोजपुरी साहित्यकार मि श्रलाई दोसल्ला ओढाएर कदरपत्र प्रदान गर्दै नागरिक अभिनन्दन गरेको हो ।

भोजपुरी भाषा, साहित्य र कलाको संरक्षणमा सक्रिय विभिन्न संघसंस्था, उद्योगी व्यवसायी, समाजसेवी एवं पत्रकार सम्मिलित नागरिक अभिनन्दन मूल समारोह समितिले मिश्रलाई २५ हजार रुपैयाँ पनि प्रदान गरेको छ । नागरिक अभिनन्दन गर्नुभन्दा पहिले वीरगन्जको माईस्थान चोकबाट फूलमालाले रंगीचंगी बनाएर सजाइएको रथमा राखेर मिश्रलाई वीरगन्ज नगर परिक्रमा गराइएको थियो । नगर परिक्रमापछि आदर्शनगरस्थित जैन तेरापन्थ भवनमा पुगेर रथयात्रा नागरिक अभिनन्दन समारोहमा परिणत भएको थियो ।

आख्यान र काव्य दुवै विधामार्फत भोजपुरी भाषा र साहित्यको सेवामा अनवरत लागेका मि श्रको योगदानको कदरस्वरूप नागरिक अभिनन्दन गरिएको नेपाल भोजपुरी समाजका सचिव रीतु राजले बताए । ‘मि श्र भोजपुरी भाषाको प्रज्ञा पुरुष र भोजुपरी साहित्यको साहित्य साधक हुनुहुन्छ’, राजले भने, ‘उहाँकै अतुलनीय प्रयासले नेपालमा भोजपुरी भाषा, साहित्यको दीपक अखण्ड रूपमा प्रज्ज्वलित भइरहेको छ ।’

भोजपुरी भाषा साहित्यको प्रवद्र्धन र प्रचारप्रसारका क्रममा पञ्चायतकालमा तत्कालीन शासकबाट विभिन्न यातना खेपेका मि श्रको भोजपुरी भाषा र साहित्य विकासमा अतुलनीय योगदान रहेको नेपाल भोजपुरी समाजका उपाध्यक्ष ध्रुवसिंह ठकुरीले बताए । त्यसैगरी भोजपुरी गायक अजमत अली अन्सारीले मि श्र भोजपुरी भाषा, साहित्य र कला क्षेत्रमा रुचि राख्नेका लागि पथप्रदर्शक भएको बताए।

समारोहमा भारतीय महावाणिज्य दूतावासका डेपुटी कन्सुलर जनरल निरज जैसवाल, बीपीसी कलेजका निर्देशक दीपक शाक्य, साहित्यकारद्वय गोपाल अश्क, दिनेश गुप्ता, सञ्चारकर्मी चन्द्रकिशोर झा, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंह, सामाजिक अभियन्ता प्रकाश थारू, राजपा युवानेता ओमप्रकाश सर्राफ, अधिवक्ता विनोद कुर्मीलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।
को हुन् पण्डित मिश्र

इस्वी संवत् १९३५ मा वीरगन्जको रेशम कोठीमा मध्यम परिवारमा जन्मिएका पण्डित दीपनारायण मि श्र २०२९ सालमा स्थापना भएको नेपाल भोजपुरी समाजका संस्थापक अध्यक्ष थिए । भारत बिहारको चम्पारणमा पर्ने बकुलहरस्थित विद्यालयबाट मध्यमा उत्तीर्ण गरेका मि श्र त्यही बेलादेखि भोजपुरी भाषा, साहित्यको विकास र सम्बद्र्धनमा लागे । २०२९ सालमा नेपालमा पहिलोपटक भोजपुरी भाषाको पत्रिका ‘सनेस’ प्रकाशनमा ल्याएका मि श्रले २०३३ सालमा भोजपुरी भाषाकै अर्को पत्रिका ‘समाद’ पनि प्रकाशन गरेका थिए ।

मिश्रले भोजपुरी भाषामा लेखेका दर्जनौं कृति प्रकाशित छन् । अजामिल खण्डकाव्य, असली नेता हम कहाइ, ए घरिके घरनी, फूलझरी, अँजुरीके फूल र ससुरा कवितासंग्रह, लालगुराँस काव्य, करनी भरनी कथासंग्रह, नीतिसंग्रह दोहासार भोजपुरी भाषामा र उपसर्ग हिन्दी कथासंग्रह मि श्रका साहित्यिक कृतिहरू हुन् । भोजपुरी भाषा, साहित्यमा दिएको योगदानको कदरस्वरूप उनले २०७३ सालमा नेपाल प्रज्ञाप्रतिष्ठानबाट एक लाख रुपैयाँसहितको हीरक जयन्ती पुरस्कार, २०५४ सालमा मायादेवी प्रज्ञा पुरस्कार, २०५३ सालमा राष्ट्रिय प्रतिभा पुरस्कार, वनीता त्रैमासिक पुरस्कारलगायत दर्जनौं सम्मान तथा पुरस्कार पाइसकेका छन् ।

यसमा तपाईको मत