सिरिया आक्रमण : घौटामा ३४६ मारिए, सयौं घाइते
0
Shares

0

जेनेभा : संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले सिरियाको घौटा क्षेत्रमा गत दुई सातामा ३४६ सर्वसाधारण मारिएको बुधबार जनाएको छ। सिरियाली सरकार र त्यसको गठबन्धन सेनाले विद्रोहीविरुद्ध गरेको रक्षात्मक सुरक्षा कारबाहीका क्रममा उनीहरूको मृत्यु भएको हो।

‘दमासकसको आवास क्षेत्रमा मात्र कम्तीमा ३ सय ४६ जनाको मृत्यु भएको छ भने ८ सय ७८ जना घाइते भएका छन्’, राष्ट्रसंघीय कार्यालयले भनेको छ। मृत्यु हुनेमध्ये अधिकांश हवाई आक्रमणमा परेका हुन्। यस क्षेत्रमा सिरियाले यसै महिनाको शुरुदेखि निकै आक्रामक हवाई कारबाही शुरु गरेको छ।

यसरी मारिनेमध्ये ९२ जना नागरिकको गत सोमबार भएको हवाई कारबाहीका क्रममा ज्यान गएको हो। गत सोमबार अर्थात् एकैदिनमा १३ घण्टाभित्र ती सर्वसाधारण नागरिक मारिएका थिए। राष्ट्रसंघीय मानअधिकार उच्चायुक्तको कार्यालयले भनेको छ, ‘घौटामा यही फेब्रुअरी ४ तारिखदेखि हवाई तथा स्थल कारबाही भएको हो र त्यसमा परी दुई सातामा धेरै नागरिक हताहत भएका छन्।’ मानवअधिकारका लागि राष्ट्रसंघीय उच्च आयुक्त जेइड राअड अल हुसेनले घौटामा दशौँ हजार नागरिक गत पाँच वर्षयता चेपुवामा परेको पुष्टि गरे।

उनीहरू आधारभूत आवश्यकताका सेवा सुविधाबाट समेत वञ्चित भएका छन् भने बम आक्रमण पनि उत्तिकै खेपिरहेका छन्। घौटाका विभिन्न आवासी क्षेत्रमा गत सोमबार र मंगलबार मात्रै पनि दर्जनौँ हवाई आक्रमण र सयौँ स्थल आक्रमण भएको छ। त्यस्तो आक्रमण बुधबार पनि जारी रहेको राष्ट्रसंघीय अधिकारीहरूले बताएका छन्।

घौटा क्षेत्रमा अत्याधिक असुरक्षा भएपछि धैरै नागरिक विस्थापित भएका छन्। उनीहरू सुरक्षित ठाउँ खोज्दै अन्यत्र गएको पाइएको छ। उनीहरूले सुरक्षित शिविरहरू बढी खोजेका छन्। सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी घौटामा करिब ४ लाख मानिसको बसोवास छ। घौटा राजधानी दमासकसनजिकै विद्रोहीहरूको बलियो प्रभाव रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यस क्षेत्रमा पुनः नियन्त्रण कायम गर्न सिरियाली सुरक्षाबलले प्रयास जारी राखेको छ। यसमा रूसको पनि सहयोग रहेको छ।

सिरियामा जारी रहेको करिब सात वर्ष लामो द्वन्द्वको क्रममा यसलाई एक रक्तपातपूर्ण कारबाहीको रूपमा हेरिएको छ। पछिल्लो कारबाहीमा परी दर्जनौँ बालबालिका मारिएको सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ।

सिरियामा सन् २०११ को मार्चमा राष्ट्रपति बसर अल असदको राजीनामाको मागगर्दै आन्दोलन शुरु भएको थियो। सो आन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको हो। यसबाट तीन लाखभन्दा बढी नागरिकको ज्यान गएको छ भने लाखौँ नागरिक घाइते तथा अंगभंग भएका छन्। मारिनेमा यहाँका सुरक्षाकर्मी पनि उल्लेख्य रुपमा रहेका छन्।
त्यसैगरी अरु लाखौँ लाख नागरिक विस्थापित भएका छन्।



यसमा तपाईको मत