सेनासंग लड्न सर्वसाधारणलाई मानवढाल बनाइँदै
0
Shares

0

बेरुत: सिरियाको रक्कामा कट्टरपन्थी संगठन इस्लामिक स्टेट (आइएस) आइएसका लडाकुहरूले यहाँको सेनासँग लड्ने क्रममा स्थानीय सर्वसाधारण नागरिकलाई मानवढालका रूरुपमा जबरजस्ती प्रयोग गर्ने गरेका छन्। त्यस सहरमा आइएसका लडाकुहरूले सिरियाली सेनामाथि हमला गर्ने गरेका छन्। साथै स्थानीय सरकार समर्थित सशस्त्र समूहहरूसँग पनि उनीहरू लड्ने गरेका छन्।

 

त्यस क्रममा उनीहरूले स्थानीय नागरिकलाई अघि सार्ने गरेका छन्। उनीहरूले आक्रमणका क्रममा मानवढाल बनाउने गरेकाले स्थानीय नागरिक गाउँ छोडेर भाग्ने गरेका छन्। अधिकारवादीहरूले सोमबार यस्तो जानकारी दिएका छन्। उक्त क्षेत्रमा सरकारी सेना तथा सरकार समर्थित सशस्त्र समूहहरूको उपस्थिति निकै कम हुने गरेको छ। त्यसैले पनि स्थानीय नागरिक असुरक्षित भएर भाग्नुपर्ने अवस्था आएको हो। त्यस क्षेत्रबाट अहिलेसम्म हजारौँ नागरिकले घर छोडिसकेका छन्।

रक्कामा रूस र खाडी मुलुकहरूको सहभागितामा निर्माण गरिएको संयुक्त सेनाले पनि हवाई कारबाही गर्ने गरेका छन्। ती आक्रमणमा पनि प्रायः सर्वसाधारण नै मारिने गरेका छन् । उक्त कारबाहीमा परी शनिबार मात्र २४ जना विद्रोहीको मृत्यु भएको जनाइएको थियो। स्थलगत रूपमा भने त्यस क्षेत्रमा सेना कमैमात्र पुग्ने गरेको छ।

सिरियामा गृहयुद्धका कारण गत पाँच वर्षदेखि हिंसा भइरहेको छ। हिंसाका कारण यहाँ तीन लाखभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । पछिल्लो समयमा यहाँ आतंककारी समूहको पनि घुसपैठ शुरु भएको छ । यसले गर्दा सिरियामा हिंसाका नयाँ नयाँ रूप भित्रिएका बताइन्छ। सन् २०११ मा यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै मध्यपूर्वका अन्य राष्ट्रहरूमा जस्तै यहाँ पनि आन्दोलन शुरु भएको थियो। त्यस आन्दोलनबाट राष्ट्रपतिले पद छोड्न नमानेपछि आन्दोलनकारीमाथि ठूलो दमन शुरु भएको थियो। दमनपछि प्रतिदिन बढ्दो हिंसाले गर्दा सिरियामा गृहयुद्ध शुरु भएको हो।

रक्कामा २५० को मृत्यु
सिरियाको रक्कामा अमेरिकी नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा २५० जनाको मृत्यु भएको छ । गत चार दिनको अवधिमा उनीहरू मारिएको र दर्जनांै घाइते भएको सिरियाको मानव अधिकारवादी संस्थाले सोमबार जानकारी दिएको छ । मारिने सवै सर्वसाधारण नागरिक रहेको पनि जनाइएको छ। ‘सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स’का अनुसार गत जुनदेखि अहिलेसम्म अमेरिकी नेतृत्वको हवाई आक्रमणमा १ हजार १ सय १७ जनाको मृत्यु भएको छ।

मृत्यु भएकामध्ये २ सय ६७ जना बालबालिका र १ सय ६४ जना महिला रहेको पनि उक्त संस्थाले जनाएको छ। बेलायतमा कार्यालय रहेको यस संस्थाले इस्लामिक स्टेट (आइएस) लडाकुको नियन्त्रणमा रहेको सिरियाको रक्का सहरलाई उनीहरूबाट ८५ प्रतिशत मुक्त गरिसकेको जनाएको छ।

यसमा तपाईको मत