स्कुलमा गोलाबारी रोक्न शिक्षकलाई हतियार
0
Shares

0

वासिङटन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विद्यालयमा हुने आक्रमण रोक्न शिक्षकहरूलाई हतियार दिनुपर्ने बताएका छन्। गत साता फ्लोरिडाको विद्यालयमा भएको जस्ता आक्रमण नियन्त्रण गर्न उनले यस्तो उपाय सुझाएका हुन्।

विद्यालयमा निरन्तर आक्रमण हुन थालेपछि त्यसलाई रोक्न अमेरिकी जनताले माग गरेका थिए। त्यसकै प्रतिक्रियामा ट्रम्पले स्थायी समाधान गर्न शिक्षकलाई नै हतियार दिनुपर्ने बताएका हुन्। हतियार बोक्न कडा कानुन बनाउनुपर्ने माग गर्दै अमेरिकामा प्रदर्शन हुन थालेका छन्।

यसै साताको शुरुमा किशोरहरूले अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसअगाडि सुतेर प्रदर्शन गरेका थिए। बन्दुकमाथि प्रतिबन्ध नलगाए आफूहरू लाश हुने उनीहरूको संकेत थियो। यसैगरी अमेरिकाका विभिन्न शहरमा ‘अर्को म हुनेछु’ लेखेका ब्यानर र प्लेकार्ड प्रदर्शन गरिएका थिए। गोलीको आक्रमण आफू हुने उनीहरूको भनाइ छ।

१४ फेब्रुअरीमा भएको गोली आक्रमणमा बाँच्न सफल भएका र मृतकका आफन्तहरूसँग संवेदना व्यक्त गर्दै ट्रम्पले यस्तो बताएका हुन्। ट्रम्पले भने, ‘यदि कोही व्यक्ति खराब नियतले विद्यालयमा उपस्थित भए तत्काल त्यसको जवाफ दिनुपर्ने हुन्छ। त्यसैले शिक्षकलाई हतियार दिएमा त्यस्ता घटना रोकिने छन्।’ ट्रम्पले शिक्षकहरूलाई हतियनार चलाउन प्रशिक्षण दिनुपर्ने पनि बताएका छन्। प्रशिक्षित शिक्षकले फायरिङ रोक्न सहयोग गर्ने उनको भनाइ छ।

ह्वाइट हाउसमा छात्रहरू र अभिभावकसँगको भेटमा उनीहरूको भनाइप्रति ट्रम्पले बेग्लै धारणा व्यक्त गरे। बन्दुकबाट हुने हिंसाविरुद्ध तत्काल कारबाही गर्नुपर्ने उनीहरूको माग थियो। ट्रम्पले भने, ‘यो बैठकपछि हामी केही काम गर्दै छौं। तपाईँहरूले निकै पीडा भोग्नु भएको छ। यस्तो पीडा अरूले भोग्नु नपरोस् भन्नेमा सचेत छौं।’

विद्यालयमा हुने गोली आक्रमणका घटना प्रायः ३ मिनेटभित्र सबै अपराध भइसक्ने गरेको उनको भनाइ थियो। प्रहरीलाई घटनास्थल पुग्न ५ देखि ८ मिनेट लाग्ने गरेको उनले बताए। प्रहरी पुग्दा फायरिङ रोक्न ढिलो हुने भएकाले हतियार चलाउन प्रशिक्षण दिइएका शिक्षकले तत्काल आक्रमणकारीको प्रतिकार गर्ने उनले दाबी गरे।

गत साता फ्लोरिडास्थित विद्यालयमा भएको आक्रमणमा मारिएमा विद्यार्थीका पिता ए. पोलोकले हतियारविरुद्ध सबै एकजुट हुनुपर्ने समय आएको बताए। उनले भने, ‘एक राष्ट्रका रूपमा हामीले आफ्ना सन्ततिलाई बर्बाद गरिरहेका छौं। अब यस्तो हुन हुँदैन।’ त्यसै विद्यालयका छात्र साम जेफले विद्यालयमा भएको आक्रमणपछि विद्यालय जान डर लागेको बताए।



यसमा तपाईको मत