स्वतन्त्रता घोषणा गरे नगरेको स्पष्ट पार्न आदेश
0
Shares

0

म्याड्रिड: स्वतन्त्र मुलुक भएको घोषणा गरेको हो कि होइन भन्ने जवाफ दिन स्पेनले क्यातालोनिया सरकारलाई आदेश दिएको छ। स्पेनको मन्त्रिपरिषद्को विशेष बैठकपछि स्पेनका प्रधानमन्त्री म्यारियानो राजोएले भने, ‘हामीले यही सूचना चाहन्छौँ कि क्यातालोनियाको सरकारले त्यहाँ स्वतन्त्रताको घोषणा गरेको हो कि होइन ।’

 

मंगलबार मात्र यहाँको सरकारले जनमत संग्रहको परिणामको उल्लेख गर्दै दिएर क्यातालोनियाको स्वतन्त्रताको घोषणा गरेको थियो । त्यही सूचनाको आधारमा स्पेनको सरकारले यस्तो प्रश्न गरेको हो । प्रधानमन्त्रीले बैठकपछि संवाददाताहरूसँग भने, ‘हामीले शुरुमा क्षेत्रीय सरकारले स्वतन्त्रता घोषणा गरेको हो कि होइन भन्ने बारेमा सोधेका छौँ र यदि स्वतन्त्रता घोषणा गरेको भएमा सरकारले त्यसैबमोजिम निर्णय गर्नेछ।’

हालै सम्पन्न जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी अलग्गै राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध पृथकतावादी नेताहरूले आन्दोलनको घोषणासमेत गरेका छन्। उनीहरूले क्यातालोनियाको स्वतन्त्रताका लागि भन्दै जनमत संग्रह गरेका थिए। जनमत संग्रहको परिणामपछि स्वतन्त्रता घोषणा गरिदिन क्षेत्रीय सरकारले केन्द्रीय सरकारसँग आग्रह गरेको थियो। स्पेन सरकार र युरोपेली मुलुकले भने उक्त जनमत संग्रहको वैधानिकतामाथि प्रश्न उठाएका छन्। स्पेन सरकारले क्यातालोनियालाई स्वतन्त्रता दिन नसकिने बताएको छ।

क्यातालोनिया स्वतन्त्रताका लागि हालैमात्र जनमत संग्रह गरिएको थियो। उक्त जनमत संग्रहलाई पश्चिमा मुलुकले विवादास्पद भनेर दाबी गर्दै आएका छन्। युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले पनि यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गरेका छन्। उक्त विवादपछि विभिन्न पश्चिमा शक्तिहरूले पनि क्यातालोनियाको विरोधका कार्यक्रमलाई नचर्काउन क्यातालोनियाली पृथकतावादी नेताहरूलाई दबाब दिएका छन्।

उक्त राज्यको स्वतन्त्रताका लागि त्यसको विरोधमा समेत बार्सिलोना तथा म्याड्रिडमा विरोधका कार्यक्रम जारी छन्। निर्णयको पक्ष र विपक्षमा समेत दिनहुँ हजारौँ मानिस प्रदर्शनमा उत्रिएका छन्। क्यातालान नेता काल्र्स पुगदमोन क्यातलोनिया स्पेनबाट अलग्गिन पाउनुपर्ने मागमा छन् तर उनलाई यो योजना छोड्न चर्को दबाब आइरहेको छ। जनमत संग्रहपछि नेताहरूले एकतर्फी क्यातालोनियाको स्वतन्त्रताको घोषणा गर्ने अनुमान गरिएको थियो तर त्यसो हुन सकेको छैन।

पृथकतावाद भएको इयुको आरोप
ब्रसेल्स: युरोपेली युनियन (इयु)ले क्यातालोनियाको स्वतन्त्रतालाई पृथकतावाद भनेर आरोप लगाएको छ। स्वतन्त्र क्यातालोनियमका लागि आन्दोलन गरिरहेका नेताहरूलाई राज्य टुक्राउने काममा नलाग्न र जनमत संग्रहको परिणामको वकालत गरी द्वन्द्व चर्काउने काम रोक्न इयुले दबाव दिएको छ ।
हालै भएको जनमत संग्रहपछि त्यसको परिणाम स्वीकार गरी स्वतन्त्र राज्यको घोषणा गर्नुपर्ने भनी स्पेन सरकारका विरुद्ध क्यातालोनियाली नेताहरूले आन्दोलनको घोषणा गरेपछि इयुले यस्तो भनाइ सार्वजनिक गरेको हो।

युरोपेली युनियनका प्रमुख डोनाल्ड टस्कले यस्तो विवाद नचर्काउन र पृथकतावादका पक्षमा आन्दोलन नगर्न आग्रह गरेका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल माक्रोँले जनमत संग्रह सर्वस्वीकार्य हुन नसकेको धारणा यसअघि सार्वजनिक गरिसकेका छन् । उनले पनि जनमत संग्रहको निर्णयबाट पछि हट्न ती नेताहरूलाई आग्रह गरेका थिए। फ्रान्सेली अधिकारीले स्वतन्त्र क्यातालोनिया माग गर्नेहरूले ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन्। उसलाई इयुको सदस्यता पनि तत्काल नदिइने उनीहरूको भनाइ छ।

यसमा तपाईको मत