स्वर्गीय अतुलको सपना पूरा गर्दै वन्दना
0
Shares

0

काठमाडौं : तबलावादक स्व. अतुल गौतमले गुरुकुल स्थापनाको सपना देखेका थिए । सपना पूरा नहुँदै उनले संसार छोडे । यति बेला त्यही सपना आँखामा सजाएर हिँडेकी छन् वन्दना गौतम । वन्दना अतुलकी श्रीमती हुन् । वन्दनालाई अतुलले आफ्नो सपनाको भारी बोकाएर गएका होइनन् । अतुल साथीहरूसँग गुरुकुलको विषयमा कुराकानी गर्थे । त्यही कुराकानीबाट श्रीमान्को सपना थाहा पाएकी वन्दनाले त्यसलाई पूरा गर्ने अठोट लिएकी हुन् ।

वन्दनाले जीवनका सात वर्षमात्र श्रीमान्सँग सहयात्रा गर्न पाइन् । अतुलसँगको त्यही सहयात्राले अहिले उनलाई जीवनदर्शन दिएको छ । विवाह भएको सात वर्षमै अतुलको स्वर्गवास भयो । पूर्ण रूपमा श्रीमानमा निर्भर वन्दनाले जीवनमा ठूलो सपना देखेकी थिइनन् । अचानक एक्लो भइन् । वियोगको समयलाई विलापमा बिताउनुभन्दा शक्तिमा परिणत गरिन् । अतुलको स्वभाव र संगीतप्रेमलाई नजिकबाट बुझेकी वन्दनाले तिनलाई जोगाउने निधो गरिन् । उनले दुई सन्तानको जिम्मेवारीसँगै श्रीमान्को सपना पूरा गर्नु थियो । पैसा शून्य । सोचिन्— उहाँजस्तो व्यक्तिको नाममा काम गर्दैछु, पैसाकै अभावले त अवश्य रोकिनेछैन ।

श्रीमान्को स्वर्गवास भएको वर्ष दिनपछि उनले अतुलका शिष्यहरूको सहयोग लिएर ‘अतुल स्मृति समाज’ स्थापना गरिन् । समाजले वर्षमा एक दिन अतुलको जन्मजयन्ती मनाउँथ्यो । उनले ‘अतुल स्मृति संगीत विद्यालय’ खोलिन् । संगीतमात्र पढाइने विद्यालयमा आवासीय सुविधा थिएन । धार्मिक परिवारकी उनलाई पनि ‘गुरुकुल’ शब्द असाध्यै मन पथ्र्यो ।

७० सालको सुरुमै आठजना बालबालिका लिएर तीनकुनेमा ‘अतुल स्मृति गुरुकुल’ सुरु गरिन् । सबै गहना बैंकमा धितो राखेर गुरुकुल सुरु गरेको उनले बताइन् । गुरुकुल सुरु भएको चार वर्षमा बालबालिकाको संख्या २० पुगेको छ । उनीहरू कौटिल्य स्कुलमा पढिरहेका छन् । गरिब तथा प्रेमका भोका बालबालिका यहाँ बस्छन् । भन्छिन्, ‘अनाथ र प्रेम नपाएकालाई राखेकी छु ।’ आवासीय बालबालिकाबाहेक अरू विद्यार्थीलाई पनि संगीत पढाइन्छ । संगीतका गुरुहरू राजु शाह, सीता खरेल र अनन्त प्रजापति छन् ।

गुरुकुल पद्धतिले बालबालिकालाई संस्कार दिने उनको विश्वास छ । उनले हिन्दु संस्कारअनुसार गुरु-शिष्य परम्परा कायम गर्न खोजेकी छन् । गुरुकुलका लागि अक्षय कोष स्थापना भएको छैन । आध्यात्मिक संस्था र व्यक्तिहरूले कहिलेकाहीँ रासन दिन्छन् । अतुलकै चिनजानका व्यक्तिहरूको सहयोग र संगीतका विद्यार्थीबाट आएको शुल्कबाट अहिलेसम्म चलिरहेको छ । ‘यो अतुलको सपनाको बीजारोपणमात्रै हो’, उनले भनिन् ।

अब उनी आ श्रम विश्वविद्यालयसम्मको योजना बोकेर हिँडेकी छन् । यही वर्षभित्र विद्यालय लिने योजना छ । ‘जबसम्म धर्ती आकाश र चन्द्र सूर्य रहन्छ, तबसम्म गुरुकुल रहोस्’, उनी भन्छिन्, ‘यसले अतुललाई अमर राख्छ ।’ सुकर्म ब्यान्डमा आबद्ध अतुलले भारतको इलाहाबाद विश्वविद्यालयबाट स्वर्ण पदकसहित स्नातकोत्तर गरेका थिए । तबलामा विद्यावारिधि गर्ने पहिलो व्यक्ति बन्ने लक्ष्य लिएर पुनः भारत गएका थिए । मस्तिष्काघातका कारण ३३ वर्षको उमेरमै उनको निधन भएको थियो ।

श्रीमानको प्रेमको अनुभूत गरिरहेको बताउँदै उनी भन्छिन्, ‘प्रेम एक अनुभूति हो, उहाँको साँचो साथ त अहिले पनि पाइरहेकी छु, उहाँको साथका लागि शरीर जरुरी भएन ।’

यसमा तपाईको मत