स्विट्जरल्यान्डको दबाब झेल्दै रोनाल्डोको राष्ट्र
0
Shares

0

एजेन्सी : क्रिस्टियानो रोनाल्डोको टोली पोर्चुगलले आगामी वर्ष रूसमा आयोजना हुने विश्वकप फुटबलमा छनोटको सम्भावना कायमै राखेको छ । युरोपेली क्षेत्रको छनोटअन्तर्गत शनिबार राति खेलिएको समूह ‘बी’ को खेलमा पोर्चुगलले एन्डोरालाई उसैको मैदानमा २-० गोलले हरायो । समूहमा नौ खेल सकेको पोर्चुगल २४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।

तालिकाको शीर्ष स्थानमा आसीन स्विट्जरल्यान्डले समान खेलबाट २७ अंक बनाएको छ । समान खेलबाट १० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा रहेको हंगेरीको छनोट सम्भावना भने सकिएको छ । हंगेरीसँगै तेस्रो स्थानभन्दा तल रहेका अन्य टोली पनि छनोट चरणबाटै बाहिरिएका छन् । पोर्चुगलले अर्को खेल बुधबार घरेलु मैदानमा स्विट्जरल्यान्डसँग खेल्नेछ । उक्त खेल विजयी हुने टोली सीधै विश्वकपमा छनोट हुनेछ भने पराजित हुने टोली छनोटको अघिल्लो चरणमा प्रवेश गर्नेछ । उक्त खेल बराबरीमा सकिएमा स्विट्जरल्यान्ड विश्वकपमा छनोट हुनेछ ।

 

युरोपेली क्षेत्रको छनोटमा सहभागी ५४ वटा राष्ट्रलाई नौ समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा ६÷६ वटा राष्ट्र सहभागी छन् । प्रत्येक समूहका टोलीले एकअर्कासँग होम एन्ड अवेका आधारमा राउन्ड रोविन लिग खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको पहिलो स्थानमा आउने टोली सीधै आगामी विश्वकपका लागि छनोट हुनेछन् भने दोस्रो स्थानमा आउने उत्कृष्ट आठ टोली दोस्रो चरणमा प्रवेश गर्नेछन् । दोस्रो स्थानमा आउने आठ टोलीले पुनः होम एन्ड अवेका आधारमा एकअर्कासँग भिडन्त गर्नेछन् । त्यसपछि अंकतालिकाको माथिल्लो चार स्थानमा आउने टोली पनि रूस विश्वकपमा छनोट हुनेछन् ।

घरेलु टोलीविरुद्ध एपकपक्षीय प्रदर्शन गरेको पोर्चुगलले दुवै गोल दोस्रो हाफमा गरेको थियो । पोर्चुगलको जितमा रोनाल्डो र आन्द्रे सिल्भाले एक÷एक गोल गरे ।रोनाल्डोले ४६औं मिनेटमा मैदान प्रवेश गरेका रोनाल्डोले ६३औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । विश्वकप छनोट खेलमा पोर्चुगलका लागि यो रोनाल्डोको १५औं गोल हो । दोस्रो हाफमा आक्रामक देखिएको पोर्चुगलका लागि ८६औं मिनेटमा सिल्भाले दोस्रो गोल गरे ।

सोही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले हंगेरीलाई ५-२ गोलको फराकिलोअन्तरले हरायो । स्विट्जरल्यान्डका लागि १८औं मिनेटमा ग्रेन्ट जाखाले पहिलो गोल गरेका थिए । दोस्रो गोल फावियन फेरीले २०औं मिनेटमा गरे । ४३औं मिनेटमा स्टेभन जुवेले गोल गर्दै पहिलो हाफका स्विट्जरल्यान्डलाई ३-० ले अगाडि बढाए । ४९औं मिनेटमा स्टेभनले व्यक्तिगत दोस्रो गोल थपे । अर्को गोल ८३औं मिनेटमा स्टेफन लिचेस्टेनियरले गरेका थिए ।

यसैगरी समूह ‘ए’ को खेलमा जित हात पार्दै फ्रान्स पनि छनोट नजिक पुगेको छ । बुल्गेरियालाई १-० गोलले हराउँदै फ्रान्स अंकतालिकाको शीर्ष स्थानमा उक्लियो । नौ खेल खेलेको फ्रान्सको २० अंक छ । फ्रान्सको जितमा ब्लेइस मातुडीले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेका थिए । 
सोही समूहको अर्को खेलमा नेदरल्यान्ड्सले बेलारूसलाई ३-१ गोलले छनोटको सम्भावना बलियो बनायो । नेदरल्यान्ड्सको जितमा डेभी प्रोपरले २४औं मिनेटमा खाता खोले । दोस्रो गोल अर्यन रोवेनले ८४औं मिनेटमा पेनाल्टीमार्फत थपे । ९०औं मिनेटमा मेम्फिस डिपेले तेस्रो गोल गर्दै टोलीको जित सहज बनाए । नेदरल्यान्ड्स १६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानमा रहेको स्वीडनेले समान खेलबाट १९ अंक बनाएको छ ।

कोस्टारिका पाँचौंपटक विश्वकपमा

कोस्टारिका भने कनकाकाफ क्षेत्रबाट सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकपका लागि छनोट भएको छ । कोस्टारिकाले शनिबार राति भएको खेलमा होन्डुरसलाई १-१ गोलको बराबरीमा रोक्दै विश्वकपमा ढोका खोलेको हो । कोस्टारिका लगातार दोस्रोपटक र समग्रमा पाँचौं पटक विश्वकपमा छनोट भएको हो । प्रतिस्पर्धात्मक खेलमा कोस्टारिकाले अन्तिममा बराबरी गोल फर्काएको थियो । खेलमा सुरुआती अग्रता होन्डुरसले लिएको थियो ।

होन्डुरसका एडी हर्नान्डेजले ६६औं मिनेटमा गोल गर्दै टोलीको उत्साह बढाएका थिए । होन्डुरसको गोलपछि आक्रामक देखिएको कोस्टारिकाले बराबरी गोल फर्काउन अन्तिमसम्म संघर्ष गर्नु परेको थियो । केन्डल वास्ट्नले ९०औं मिनेटमा बराबरी गोल गर्दै कोस्टारिकाको रूसयात्रा तय गरेका थिए । जितसँगै कोस्टारिका नौ खेलबाट १६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको मेक्सिकोले समान खेलबाट २१ अंक बनाएको छ ।

मेक्सिको र कोस्टारिका दुवै विश्वकपमा छनोट भएका हुन् । १२ अंकसहित तालिकाको तेस्रो स्थानमा रहेको अमेरिकाले पनि रूसयात्राको सम्भावना कायमै राखेको छ । चौथो स्थानमा रहेको पानमा र पाँचौं स्थानमा रहेको होन्डुरसको समान १०÷१० अंक छ । अमेरिकाले विश्वकपमा छनोट हुन मंगलबार हुने खेलमा ट्रिनिडाड एन्ड टोबागोलाई कम्तीमा बराबरीमा रोक्नुपर्ने हुन्छ । 
कनकाकाफ क्षेत्रको अन्तिम चरणको छनोटमा ६ राष्ट्र सहभागी छन् । सहभागी टोलीले एकअर्कासँग होम एन्ड अवेका आधारमा राउन्ड रोविन लिग खेल्नेछन् । त्यसपछि तालिकाको तेस्रो स्थानसम्म आउने टोली सीधै विश्वकपमा छनोट हुनेछन् भने चौथो स्थानमा आउने टोलीले अन्तरमहादेशीय प्ले अफ खेल्नु पर्नेछ ।

यसमा तपाईको मत