हराउँदै जोगिरा सररर…
0
Shares

0

विराटनगर : तराईमा सद्भावको प्रतीकका रूपमा मनाइने होली पर्वको रौनक विस्तारै हराउन थालेका छन्।मिथिलाको लोक संस्कृतिसँग जोडिएको होली पर्वप्रति युवा पुस्ताको आकर्षण नहुँदा रौनक घटेको हो।

वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँटोल, छिमेकमा गाइने माधुर्यता र प्रेमभावपूर्ण होली गीत गाउने चलन हराउन थालेको छ। समाजका अगुवा तथा युवाले एक महिनासम्म गाउने होलीका गीत विगत १० वर्षदेखि क्रमिक रूपमा कमी आएको मधवापुर सप्तरीका योगेन्द्र मण्डल बताउँछन्।

फागु गीत जोगिरा गाउँदा होली आयो र सबैले बेलुकाको खाना खाएर आपसी दुःखसुख बाँड्दै गाउने गरेकोमा हाल मुस्किलले एकदुई दिन मात्र गाउने गरेको सुनसरी हरिपुरका दयाशंकर झाले बताए। ‘पहिलेपहिले फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउने गरिन्थ्यो’, झाले थपे।

पहिले कामोत्सवको मर्म, धार्मिक र आध्यात्मिक विशिष्टता, जीवनको उमंग, ऊर्जा, संस्कृतिको प्रभाव, परम्पराको आधार, पिरती तथा उन्मुक्ति लुकेको हुन्थ्यो। तर, आधुनिकता र सहरीकरणले उच्छृंखल गीत आएकाले माधुर्यता र प्रेमभाव मिसिएको होली गीत विरलै सुन्न पाइने गरेको मधवापुर सप्तरीका योगेन्द्र मण्डलले बताए।

‘जोगिरा सर…र…र… कौन तालपर ढोलक बाजे, कौन ताल मृदंग….कौन तालपर गारिया नाचे, कौन तालपर हम’ गीत नै सुन्न सकिन्छ न त मृदंग, ढोल, डम्फुको स्वर नै सुनिन्छ। सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले होलीको पौराणिकता, दिनहँजसो हुने झै–झगडा, राग द्वेषका कारण होली गीत गाउनै छाडिसकिएको छ।

‘पहिले पहिले बूढापाकाहरू रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदंग, ढोल लिएर समूहगत रूपमा होली गीत गाउँदै होली लागेको जानकारी दिने गरिन्थ्यो’, मधवापुरका महेन्द्र ठाकुरले भने, ‘तर, अब त्यो समय हराएको छ।’



यसमा तपाईको मत