१२ हजार स्वाइप मेसिन प्रयोग
0
Shares

0

काठमाडौं : नेपालमा पोइन्ट अफ सेल (पीओएस) अर्थात् स्वाइप मेसिनको संख्या १२ हजार भन्दा बढी पुगेको छ। सक्षम–एक्सेस टू फाइनान्सले तयार पारेको तथ्यांकका आधारमा नेपालमा अहिले १२ हजारभन्दा बढी मेसिन प्रयोगमा आएको उल्लेख छ।

‘नेपालमा पछिल्लो समय बनेका ठुल्ठूला मल, होटल, एयरलाइन्स, ट्रेकिङलगायत कम्पनीमा यस्तो मेसिनको प्रयोग गरिरहेका छन्। यसले एकातिर पीओएस मेसिनको प्रयोगलाई बढाएको छ भने अर्कोतर्फ डिजिटल कारोबारका लागि प्रोत्साहन गरिरहेको छ।’ सक्षम एक्सेस टू फाइनान्सका मोबाइल फाइनान्सियल सर्भिसेज एन्ड पेमन्ट सिस्टम्स एड्भाइजर प्रविण राज पोखरेलले भने, ‘यसले नेपालीको किनमेल शैलीमा आएको परिवर्तलानई पनि दर्शाउँछ।’

‘नेपालमा आजभन्दा २५ वर्षअघिदेखि स्वाइप मेसिनको सुरुवात भएको हो’, अल्पाइन कार्ड सर्भिस प्रालिका महाप्रबन्धकमा राजगोपाल राजभण्डारी भन्छन्, ‘त्यो भन्दा पहिले पनि पीओएस मेसिनको नाममा इन्क प्रिन्टर आएको थियो। इन्क प्रिन्टरमा कार्डलाई पेपरमाथि राखेर हातले घोट्न पथ्र्यो। त्यो अहिलेजस्तो कार्डलाई मेसिनमा स्वाइप गरेर कारोबार गर्न सहज थिएन। यसको प्रयोग ट्राभल कम्पनी र होटलले गरेका थिए।’ ‘पछि सन् १९९७ बाट नेपालमा बैंकले यसलाई नेपालमा भित्र्याएको हो’, बैंकर एसोसिएसन नेपालका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना भन्छन्, ‘सुरुवातमा यसले सोचे अनुसार विस्तार हुन नसकेको भए पनि यसको प्रयोग विगत पाँच वर्षको अन्तरालमा ठूलो मात्रामा भएको छ।’ अहिले पीएसओ मेसिन १२ हजारकै हाराहारीमा रहेको उनी स्विकार्छन्।

बैंकर एसोसिएसनका निवर्तमान अध्यक्ष तथा नबिल बैंकका डेपुटी सीईओ अनिलकेशरी शाहका अनुसार नेपालमा सुरुमा नेपाल ग्रिनलेज बैंक (अहिलेको नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) ले पीओएस मेसिन भित्र्याएको हो। त्यसपछिका दिनमा अल्पाइन कार्ड सर्भिसले यो सेवा दिन थाल्यो। अल्पाइनले पहिलो चरणमा युनियन बैंक अफ सिंगापुरसँग सहकार्य गरेर पीओएस सिस्टमलाई नेपालमा भित्र्याएको थियो। पछि नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकले कार्ड दिन सुरु गरेपछि अल्पाइनले नेपाल स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग सहकार्य ग‍र्‍यो।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि उक्त सेवा बन्द गरेपछि अहिले अल्पाइनले हिमालयन बैंकसँग सहकार्य गरेर कार्डको भुक्तानी गर्ने काम गरिरहेको छ। अहिले अल्पाइनकै मात्र चार हजारको हाराहारीमा पीएसओ मेसिन सञ्चालनमा रहेको राजभण्डारी बताउँछन्। उनका अनुसार पछिल्लो समय यो सेवा दिने बैंक तथा कम्पनी पनि ठूलो मात्रामा थपिएकाले यसको संख्या बढेर १२ देखि १५ हजारको हाराहारीमा पुगेको हुन सक्छन्। शाहका अनुसार नेपालमा पहिलो पटक यो मेसिन भिœयाउन भूमिका खेल्ने त्यसबेलाका पाँचतारे होटल हुन्। होटलको अनुरोधमा यो सेवा भित्रिएको उनी बताउँछन्।

बैंकर एसोसिएसन नेपालका अध्यक्ष ढुंगानाका अनुसार पछिल्लो समय कार्ड बोक्ने मानिसको संख्यामा आएको वृद्धिले पनि पीएसओ मेसिनको प्रयोग बढ्दै गएको हो। यसले नेपालमा क्यासलेस कारोबारलाई अघि बढाउन पनि सघाउ पुर्‍याएको छ। यो नेपालजस्तो देशका लागि आवश्यक पनि छ। पर्यटन आम्दानी भएको देशका लागि यस्ता किसिमका सेवा आवश्यक पनि हुन्छ। बाहिरबाट आउने पर्यटकले बढी मात्रामा यस्तो कार्डको प्रयोग गर्ने भएकाले पर्यटक लक्षित व्यवसायमा यस्ता मेसिन प्रयोगमा बढी भएको छ।

पछिल्लो समय यसको प्रयोग ठुल्ठूला मल, होटल, रेस्टुरेन्ट, एयरलाइन्स, ट्राभल, ट्रेकिङ, मनी एक्सचेन्ज, सुपर मार्केटजस्ता स्थानमा भएको छ। अहिले त, भाटभटेनीलगायत सुपर मार्केटमा एकै ठाउँमा दर्जनको संख्यामा यस्ता मेसिनको प्रयोग भइरहेको छ। भाटभटेनीमा जुन रूपले पीओएस मेसिनको प्रयोग भएको छ त्यसले मानिसमा यसप्रति विश्वास पलाएको उनी बताउँछन्। उनका अनुसार सुरक्षाका हिसाबले पनि राम्रो भएकाले पनि यसको प्रयोगमा वृद्धि भएको हो। त्यो भन्दा कार्ड घोटेको भरमा कुनै पनि सेवा तथा सामग्रीको लागत तिर्न सकिन्छ भने मानिस किन खल्तीमा क्यास बोकेर किन रिक्स मोल्ने।

अध्यक्ष ढुंगानाका अनुसार कार्डको प्रयोग बढेसँगै बैंकहरूले पनि कार्ड विस्तारमा महत्व दिएका छन्। अहिले नेपालमा रहेका २८ वटा कमर्सियल बैंकले डेभिट/क्रेडिट कार्ड रिलिज गरिरहेका छन्। अहिले नेपालमा ट्राभल कार्ड, डेभिट/क्रेडिट कार्ड प्रयोगमा छन्। त्यसमा भिसा, एससीटी, मास्टर, जेसीबी, सीपीयू, अमेरिकन एक्सप्रेस, मेस्ट्रोलगायत कार्ड प्रयोग हुने गरेको छ।

के हो पीओएस मेसिन ?

पीओएस मेसिन क्यासलेस कारोबार गर्ने माध्यम हो। यसका माध्यमबाट ग्राहकले आफ्नो डेबिट वा क्रेडिट कार्डमार्फत रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन्। दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोर, ठुल्ठूला सपिङ मल, होटल, हवाई टिकट सिनेमा हललगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानमा यो मेसिन प्रयोग गर्न सकिन्छ।

एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झन्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ। यसले पैसा हराउने, लुटिनेलगायत समस्याबाट पनि बचाउँछ। यस किसिमको कारोबार बढ्दै गयो भने राष्ट्र बैंकलाई नोट छापिरहनु पर्दैन। नोट छाप्दा बिदेसिने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ।



यसमा तपाईको मत