१९५० को सन्धिमा दुवै पक्ष गम्भीर
0
Shares

0

सन् १९५० को सन्धि तथा व्यापार, ऊर्जा, कनेक्टिभिटी तथा सीमापार समस्यामा विगतमा भएको छलफललाई निरन्तरता दिँदै भर्खरै भारतको देहरादुनमा प्रबुद्ध समूहको चौथो बैठक सम्पन्न भएको छ । तीन दिन चलेको बैठकमा दुबै पक्षका सदस्य उपस्थित थिए । नेपालतर्फबाट समूहका संयोजक पूर्वराजदूत डा. भेषबहादुर थापालगायत सदस्यहरू पूर्वमन्त्री नीलाम्बर आचार्य, अख्तियारका पूर्वप्रमुख आयुक्त तथा कानुनविद् सूर्यनाथ उपाध्याय र एमाले सांसद राजन भट्टराईको सहभागिता रहेको थियो । यसैगरी भारतका तर्फबाट संयोजक भारतीय जनता पार्टीका नेता भगतसिंह कोशियारीलगायत सदस्यहरू नेपालका लागि पूर्वराजदूत जयन्त प्रसाद, प्राध्यापकद्वय महेन्द्र पी. लामा तथा भुवनचन्द्र उप्रेती सहभागी हुनुभएको थियो। नेपालमा यही अगस्तको अन्तिम सातामा समूहको पाँचौं बैठक बस्ने तय भएको छ । बैठकमा सहभागी नेपालतर्फका संयोजक डा. थापासँग नयाँ दिल्लीमा अन्नपूर्णकर्मी आशा थपलियाले गरेको छोटो कुराकारीः

Bhesbahadur_Thapa

डा. भेषबहादुर थापा, संयोजक, प्रबुद्ध समूह

यो बैठकमा के-के कुरामा छलफल भयो ?

यो बैठकमा सन् १९५० को सन्धिलगायत व्यापार, ऊर्जा, कनेक्टिभिटी तथा सीमापार समस्यामा विगतका तीनवटा बैठकमा भएका छलफलको निरन्तरता रह्यो । सन्धिलाई समयानुकूल बनाउने विषयमा छलफल भइरहेको छ । विगतमा तीनवटा बैठकमा भएको छलफललाई अझ विस्तृत रूपमा चौथो बैठकमा छलफल गरिएको छ । दुवै पक्ष गम्भीर भएर सकारात्मक ढंगले अघि बढेको छ ।

सन् १९५० को सन्धिका समस्या नेपालको बढी चासोको विषय होइन र ?

मुलुकको राजनीतिमा जुनसुकै व्यवस्था आए पनि यो सन्धिलाई अँगालेर बस्नुपर्ने बाध्यात्मक अवस्था थिएन । यसले नेपाललाई परेको समस्याका बारेमा कसैले पनि बोलेनन् । यसलाई अँगालेर बस्नुपर्छ भनेर कसैले एक अर्कालाई दबाब दिएको थिएन । पछिल्लो समय नेपालका बुद्धिजीवी, प्राध्यापक, सञ्चारमाध्यमबाट दबाब सिर्जना भयो । अहिले आएर सम्बोधन गर्ने प्रक्रिया सुरुवात भएको छ । त्यसलाई सकारात्मक कदम मानेर अघि बढनुपर्छ ।

सन्धिको प्रतिस्थापनको विषयमा भारतीय पक्ष सकारात्मक छैन भन्ने छ नि ? यो बैठकमा के देखियो ?

समयले कोल्टे फेरेको दुबै पक्षलाई महसुस भएको छ । कसरी, कहाँ र के गर्ने भन्ने कुरा संवादबाट अघि बढ्ने हो । चौथो बैठकसम्म आइपुग्दा हामी सकारात्मक रूपमा अघि बढेका छौं । दुबै मुलुकको बीचमा के के समस्या छ र यसलाई कसरी सुधार गर्न सकिन्छ । यो आवश्यकतालाई महसुस गरेर नै प्रबुद्ध समूह गठन भएको हो । यसमा भारतीय पक्ष नकारात्मक हुनुपर्ने कारण नै छैन । बरु आठवटा बैठकपछि तयार हुने सुझावसम्म पर्खिनुपर्छ । त्यसपछि कुन पक्षको धारणा कस्तो छ भन्ने कुरा अगाडि आउँछ । अहिले यसलाई नकारात्मक ढंगबाट अघि बढाउनु उचित हुँदैन ।

प्रबुद्ध समूहको सुझाव लागू हुन्छ भन्नेमा विश्वस्त हुन सक्ने आधार के छ ?

प्रबुद्ध समूहले आठवटा बैठकपछि एउटा सुझाव प्रतिवेदन तयार पारेर दुवै मुलुकका सरकारलाई दिने हो । भोलि के हुन्छ भनेर अहिले नै भविष्यवाणी गर्न सकिँदैन । यो संवेदनशील विषय पनि हो । तर लागू नै नगर्ने हो भने समूहको गठन नै हुँदैनथ्यो । सुझाव लागू हुन्छ अथवा हुँदैन भन्ने कुरा समयले बताउला । तर दुबैतर्फका सरकारको चासोमा नै सुधारको आवश्यकता महसुस गरिएको छ । अर्को कुरा सुरक्षा, व्यापार, सीमापार तथा सुरक्षा समस्या बढ्दै गइरहेको छ । त्यसैले दुबै पक्षको हितलाई ध्यानमा राखेर नै समूहले विभिन्न पक्षबाट समाधानको सही बाटो खोजिरहेको छ ।

यसमा तपाईको मत