२२ बर्षपछि मिस्टर भ्याली प्रतियोगिता हुँदै
0
Shares

0

भक्तपुर: २२ वर्षअघि रोकिएको शारीरिक सुगठनसम्बन्धी प्रतियोगिता तेस्रो मिस्टर भ्यालीको सम्पूर्ण तयारी पूरा भएको छ। भक्तपुर शारीरिक सुगठन तथा फिटनेस संघले २०५२ सालपछि हुन नसकेको मिस्टर भ्याली व्युँताएको हो। संघका अध्यक्ष बाबुकाजी मानन्धरले यही भाद्र ३० र ३१ गते हुने मिस्टर भ्यालीको सम्पूर्ण तयारी पूरा भएको बताए।

 

प्रतियोगिताको प्रिजजको लागि काठमाडौं, भक्तपुर र ललितपुरका एकसय जना शारीरिक सुगठनका खेलाडीहरुको सहभागिता रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष मानन्धरले जानकारी दिए। ‘६ वटा तौल समूहको प्रतिस्पर्धाको लागि हुने प्रिजजमा एकसय जना खेलाडी सहभागी हुने भएका छन्’, उनले भने, ‘प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ भन्दा माथिका तौल समूहका शारीरिक सुगठनका खेलाडीहरुबीच स्पर्धा हुनेछ।’

उनका अनुसार प्रत्येक तौल समूहका विजेताबीच ग्राण्ड फाइनलमार्फत मिस्टर भ्याली घोषित हुनेछ। मिस्टर भ्याली हुन सफल शारीरिक सुगठकले ५० हजार रुपैयाँ नगद पुरस्कारसमेत हात पार्नेछन्। त्यस्तै प्रतियोगिताका उपविजेतादेखि छैटौं हुन सफल शारीरिक सुगठकले पनि शिल्ड, पदक र प्रमाणपत्रसँगै जनही दस हजार रुपैयाँ नगद पुरस्कार हात पार्ने प्रतियोगिता संयोजक श्यामसुन्दर प्रजापतिले जानकारी दिए।

‘प्रिजजिङ राउण्डबाट प्रत्येक तौल समूहबाट उत्कृष्ट पाँचपाँच जना खेलाडी छानिेछन्’, संयोजक प्रजापति भन्छन्, ‘तौल समूहका उत्कृष्ट तीनजनाले स्वर्ण, रजत र कास्य पदक पाउनेछन् भने तौल च्याम्पियन ग्राण्ड फाइनलको लागि छनोट हुनेछन्।

संघका अध्यक्ष मानन्धरका अनुसार तेस्रो मिस्टर भ्यालीसँगै प्रथम मिस्टर भक्तपुर फिटनेस फिजिक्ससमेत आयोजना गरिने छ। यसको लागि सबै तौल समूहका शारीरिक सुगठनका खेलाडीहरुले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए। ‘फिटनेस फिजिक्सको प्रिजजिङ राउण्डबाट उत्कृष्ट दसजना छनोट गरिनेछ’, अध्यक्ष मानन्धरले भने, ‘उत्कृष्ट दसबीच प्रतिस्पर्धा गराएर विजेता घोषित गरिनेछ।’

कार्यक्रममा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका उपाध्यक्ष दिनेश राजभण्डारीले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरुले पदक ल्याइरहँदा पनि शारीरिक सुगठनलाई राज्यले उपेक्षा गर्दै आएको बताए।

यी दुवै प्रतियोगितामा नेपाल शारीरिक सुगठन तथा फिटनेस संघमा दर्ता भई नवीकरण भएका क्लव, संघसंस्थाका प्रतिनिधिहरुले मात्रै भाग लिन पाउने नियम बनाइएको छ। त्यस्तै एउटा क्लव, संघसंस्थाले एउटा तौल समूहमा बढीमा दुई जना खेलाडीलाई मात्रै भाग लिन लगाउन पाउने नियम बनाइएको छ।

त्यस्तै शारीरिक सुगठनका राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जितेका तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएका खेलाडीहरुले मिस्टर भ्याली र प्रथम मिस्टर भक्तपुर फिटनेस फिजिक्समा भाग लिन पाउनेछैनन्।

पत्रकार भेटघाटमा प्रतियोगिताको लागि करिब सात लाख ७५ हजार रुपैयाँ लाग्ने अनुमानित बजेटसमेत प्रस्तुत गरिएको थियो। २०५१ सालमा भएको पहिलो मिस्टर भ्यालीको उपाधि भक्तपुरका राजु दिवाकरले जितेका थिए । त्यस्तै २०५२ सालमा भएको दोस्रो संस्करणको उपाधि भने पाटनका सागर ताम्राकारले हात पारेका थिए।

यसमा तपाईको मत