२८ वर्षपछि इजिप्ट विश्वकपमा
0
Shares

0

कायरो: अफ्रिकी क्षेत्रको शक्तिशाली टोली इजिप्ट २८ वर्षपछि विश्वकप फुटबलमा छनोट भएको छ। अफ्रिकी क्षेत्रको छनोटअन्तर्गत आइतबार राति खेलिएको खेलमा कंगोलाई २-० गोलले हराउँदै इजिप्ट सन् २०१८ मा रूसमा आयोजना हुने विश्वकपमा छनोट भएको हो। रूस विश्वकपमा छनोट हुने इजिप्ट दोस्रो अफ्रिकी राष्ट्र हो। नाइजेरिया यसअघि नै विश्वकपमा छनोट भइसकेको छ।

अफ्रिकी क्षेत्रको समूह ‘ई’ अन्तर्गतको खेलमा इजिप्टका लागि दुवै गोल मोहमेद सलाहले गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ६३औं मिनेटमा घरेलु टोली इजिप्टका लागि सलाहले पहिलो गोल गरेका थिए। ८८औं मिनेटमा कंगोका आर्नोल्ड बुकाले जवाफी गोल गरेपछि खेल १/१ को बराबरीमा पुगेको थियो । त्यसपछि खेलको इन्जुरी समयमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै इजिप्टलाई विश्वकपमा छनोट गराएका हुन्।

इजिप्ट सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो । समूह ‘ई’ मा रहेका चारवटै टोलीले अब एक÷एक खेल खेल्न बाँकी रहँदा इजिप्टको १२ अंक छ । युगान्डा (आठ अंक), घाना (६ अंक) र कंगो (एक अंक) भने छनोट चरणबाटै बाहिरिएका छन्। यसअघि समूह ‘बी’ बाट नाइजेरिया विश्वकपमा छनोट भएको थियो । उक्त समूहबाट जाम्बिया, क्यामरुन र अल्जेरिया बाहिरिएका थिए।

अफ्रिकी क्षेत्रको अन्तिम चरणको छनोटमा सहभागी २० टोलीलाई पाँच समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका टोलीले होम एन्ड अवेका आधारमा एकअर्कासँग राउन्ड रोविन लिग खेल्नेछन् । त्यसपछि प्रत्येक समूहको पहिलो स्थानमा आउने टोली आगामी विश्वकपका लागि छनोट हुनेछन् । अब अफ्रिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने तीनवटा टोलीको टुंगो लाग्न बाँकी छ।

पोल्यान्ड पनि विश्वकपमा
युरोपेली क्षेत्रबाट पोल्यान्ड पनि विश्वकपमा छनोट भएको छ । पोल्यान्डले आइतबार राति खेलिएको खेलमा मोन्टेनेग्रोलाई ४—२ गोलले हरायो । समूह ‘ई’ कै अन्य खेलमा रोमानियाले डेनमार्कलाई उसैको मैदानमा १/१ गोलको बराबरीमा रोक्यो भने कजाकस्तान पनि आर्मेनियासँग आफ्नै मैदानमा १-१ को बराबरीमा रोकियो। पोल्यान्ड सन् २००६ पछि पहिलोपटक विश्वकपमा छनोट भएको हो।

उक्त समूहमा सहभागी ६ वटै टोलीले आआफ्नो सबै खेल खेलिसक्दा पोल्यान्डले २५ अंकसहित रुसको यात्रा पक्का गरेको हो । २० अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको डेनमार्क अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो भने मोन्टेनेग्रो, रोमानिया, आर्मेनिया र कजाकस्तान छनोट चरणबाटै बाहिरिए । समूह ‘सी’ को खेलमा आइतबार राति साविक विजेता जर्मनीले घरेलु मैदानमा अजरबैजानलाई ५/१ गोलले हरायो। सोही समूहको अन्य खेलमा चेक गणतन्त्रले सन मारिनोलाई ५-० र नर्वेले उत्तरी आयरल्यान्डलाई १-० गोलले हराए।

उक्त समूहबाट जर्मनी यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । उक्त समूहमा सहभागी टोलीले आआफ्नो सबै खेल खेलिसकेका छन् । जर्मनीले अपराजित रहँदै ३० अंक बटुल्यो भने १९ अंकसहित दोस्रो स्थानमा रहेको उत्तरी आयरल्यान्ड अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो । समूह ‘एफ’ अन्तर्गतको आफ्नो अन्तिम खेलमा इङ्ल्यान्ड पनि विजयी भयो।

इङ्ल्यान्डले लिथुआनियालाई उसैको मैदानमा १-० गोलले हरायो । उक्त समूहबाट २६ अंकसहित इङ्ल्यान्ड विश्वकपमा छनोट भइसकेको छ । १८ अंकसहित दोस्रो स्थानमा रहेको स्लोभाकिया अन्तरमहादेशीय प्ले अफका लागि छनोट भयो ।

यसमा तपाईको मत